सीमाका २ सय ३६ स्तम्भ गायब

अमर खड्का, इटहरी माघ १२- नेपाल–भारतको सीमा छुट्याउन पूर्वी नेपालका सात जिल्लामा गाडिएका २  सय ३६ सीमा स्तम्भ गायब भएका छन्। यस्ता स्तम्भ धमाधम हराउन थालेपछि सशस्त्र प्रहरी पूर्वी क्षेत्रीय मुख्यालय बराहबाहिनी पकलीले गरेको स्थलगत सर्वेक्षणमा सीमा स्तम्भ गायब भएको पत्ता लागेको हो।

सशस्त्र प्रहरीले गरेको सर्वेक्षणको रिपोर्टमा  ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी,  सप्तरी र सिरहामा सीमा स्तम्भ गायब भएको उल्लेख छ।

स्थलगत सर्वेक्षणअनुसार ताप्लेजुङमा पाँच स्तम्भ गायब भएको पाइएको छ। यो जिल्लामा चार वटा दुरुस्त छन् भने एउटा जीर्ण भई मर्मत सम्भारको अवस्थामा छ। ताप्लेजुङका केही भू–भाग चीनसँग पनि जोडिएको छ। तर, भारतीय सीमा जोडिएका स्थानमा सीमा स्तम्भ गायब छन्। इलाममा १ सय १९ वटा सीमा रहेकामा ९ वटा गायब भएका छन्, जसमा दुईवटा मर्मत सम्भार गर्नुपर्ने र १ सय ८ वटा दुरुस्त छन्।

यस्तै, झापामा २० स्तम्भ गायब छन्। १ सय ७५ स्तम्भमध्ये १ सय १२ वटा जीर्ण भई मर्मत गर्नुपर्ने अवस्थामा छन् भने ४३ वटा जस्ताको तस्तै छन्। झापाको तुलनामा मोरङमा दोब्बर सीमा स्तम्भ गायब छन्। मोरङका १ सय २४ स्तम्भमध्ये २२  वटा जीर्ण अवस्थामा छन्, बाँकी दुरुस्त छन्। सुनसरीमा ३९ वटा गायब भएका छन्। २ सय ८३ वटा स्तम्भमध्ये ६१ वटा जीर्ण अवस्थामा छन्। बाँकी भने जस्ताको तस्तै पाइएको छ।

सबैभन्दा बढी सप्तरीमा १ सय २१ स्तम्भ गायब भएका छन्। ३ सय ८३ स्तम्भमध्ये ३९ वटा मर्मत सम्भार गर्नुपर्ने अवस्थामा छन्। सीमा स्तम्भ मर्मत सम्भार गर्नुपर्ने अवस्थामा सबैभन्दा बढी सिरहामा छन्। त्यहाँ १ सय २६ वटा मर्मत सम्भार गर्नुपर्ने अवस्थामा सीमा स्तम्भ छन्। मर्मत सम्भार गर्नुपर्नेबाहेक दुई वटा गायब छन् भने १ सय ५३ वटा दुरुस्त छन्। सिरहाको पछिल्लो तथ्याङ्क आउन बाँकी नै रहेकाले दुईवटा मात्र स्तम्भ गायब भएको तथ्याङ्क पूर्वी मुख्यालयसँग रहेको उल्लेख छ।

सिरहामा अरु बढी स्तम्भ गायब भएको दावी गरिएको छ। भारतसँग सीमा जोडिएको पाँचथरमा भने स्तम्भ गायब छैनन्। तर, यो जिल्लामा ३ वटा जीर्ण भएर मर्मत गर्नुपर्ने अवस्थामा छन्।  एसएसपी जानकीराज भट्टराईका अनुसार पूर्वी नेपालको नौ जिल्लामा गरेको स्थलगत सर्वेक्षणमध्ये चीनसँग सीमा जोडिएको सङ्खुवासभामा स्तम्भ दुरुस्त अवस्थामा छन्।

४ फिटदेखि ८-१० फिटसम्म अग्ला सिमेन्ट र कङ्क्रिटले बनेका सीमा स्तम्भ पूर्वी नेपालका नौ जिल्लामा १ हजार ४ सयको सङ्ख्यामा छन्।

source: nagariknews.com