माओवादीको विरोधमा जोगबनी नाका बन्द, अरु सीमा क्षेत्रमा पनि कडाइ

अजित तिवारी, विराटनगर, माघ १३- एकीकृत नेकपा माओवादीको पोस्टरमा भारतको राष्ट्रिय झण्डा र अशोक स्तम्भलाई जुत्तामा अंकित गरेको आक्रोशमा सीमावर्ती जोगवनीका भारतीय नागरिक प्रदर्शनमा उत्रिएका छन्। जोगबनीवासीले अनिश्चितकालका लागि नाका बन्द गरेका छन्।

माओवादीले सार्वजनिक माफी माग्नुपर्ने अडानमा रहेका प्रदर्शनकारीले मंगलबार दिनभर दशजगा क्षेत्रमा प्रदर्शन गरे।


‘भारतविरोधी गतिविधि बन्द गर' र ‘प्रचड मूर्दावाद' लेखिएको प्लेकार्ड बोकेका प्रदर्शनकारीको विरोधले स्थिति अप्रिय हुनसक्ने भएकाले भारतीय र नेपाली सुरक्षाकर्मी सीमाक्षेत्रमा हाइएलर्टमा बसेका छन्।

दसगजा क्षेत्रमा बिहानैदेखि माओवादीविरुद्ध भारतीय प्रदर्शनमा उत्रिएपछि सीमा सुरक्षा बल (एसएसबी) र बिहार प्रहरीले प्रदर्शनकारीलाई उत्तेजित नहुन सम्झाइरहेका छन् भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको तैनाथी सीमाक्षेत्रमा बाक्लो पारिएको छ। भारतीयले माओवादी अध्यक्ष पुष्पकमल दाहालको पुत्ला पनि जलाएका छन् भने उनीविरुद्धमा कडा रूपमा प्रस्तुत भएका छन्।

पोस्टरमा देखाइएको दृश्यले भारतीयको अपमान गरेको भन्दै जोगवनीवासी बिहानैदेखि सडक अवरुद्ध गरेर माओवादीविरुद्ध प्रदर्शनमा उत्रिएपछि उक्त क्षेत्रको स्थिति तनावपूर्ण बनेको थियो। भारतीयको बिरोधलगत्तै जोगवनीको सीमाक्षेत्रमा माओवादीले टाँसेका पोस्टर च्यातिएका छन्।

राष्ट्रिय स्वाधीनताको रक्षा गर्न अपिल गर्दै १५ दिनअघि माओवादीको केन्द्रीय समितिले मोरङ पार्टी कार्यालयमा पठाएको पोस्टर राष्ट्रिय जागरण भण्डाफोर अभियानअन्तर्गत सीमाक्षेत्रमा टाँस्ने क्रम जारी छ। ‘पहिलो खेपमा १० हजार प्रति पोस्टर आएको छ, गाउँ र इलाका कमिटीबाट माग आइरहेकाले थप मगाएका छौं,' माओवादी मोरङका सहइन्चार्ज गणेश उप्रेती(सुशील)ले नागरिकसँग भने, ‘इन्डियन बुटले नेपाली भूमि कुल्चनुले सांकेतिक अर्थ बोकेको छ, भारतीयले गलत अर्थ लगाए।'

पाँचवटा नारा लेखिएको माओवादीको उक्त पोस्टरमा तीनवटा माग भारतसँग सम्बन्धित छन्। सन् १९५० को सन्धि खारेज गर्न, सीमा अतिक्रमण बन्द गर्न र भारतीय सेनालाई नेपाली भूमि छोड्न आग्रह गरिएको पोस्टरमा नेपाली नक्साको दक्षिण, पूर्व र पश्चिम कुनामा बनाइएको ६ वटा कालो जुत्तामा अशोक स्तम्भ र भारतको राष्ट्रिय झण्डा अंकित गरिएको छ। १८ इन्च चौडाइ र २४ इन्च लामो पोस्टरको जुत्तामा झण्डा र अशोक स्तम्भ अंकित गरेकामा भारतीय आक्रोसित छन्।

‘हाम्रो ठाउँको शोभा र गरिमालाई माओवादीले जुत्तामा राखेर अपमान गरेका छन्,' जोगवनीका जाकिर हुसैन खाँले नागरिकसँग भने, ‘माओवादीले माफी नमागेसम्म आन्दोलन जारी रहनेछ।' माओवादीविरुद्धको भारतीय नागरिकको आन्दोलनमा त्यहाँका राजनीतिक दलको सहयोग नरहे पनि पार्टीका स्थानीय नेता प्रदर्शनमा देखिएका थिए। रामविलास पासवान अध्यक्ष रहेको लोक जनशक्ति पार्टीका अररिया जिल्ला तहका नेता प्रदर्शनमा छन्। प्रदर्शनको नेतृत्व अररिया प्रान्तका पूर्व विधायक जाकिर अनवरले गरेका छन्।

‘भारतीयको सम्मानमा चोट पुग्ने पोस्टरमा केही पनि छैन,' माओवादी मोरङ इन्चार्ज शिवकुमार मण्डलले भने। मण्डलले भारतीय नागरिकको बिरोधलाई पार्टीले स्वभाविक रूपमा लिएको प्रतिकृया दिए। उनले मिचेको भूभाग माग्दा भारतीय सुरक्षाकर्मीले माओवादी नेता, कार्यकर्तालाई उग्रवादी सूचीमा राखेर खोजी गर्ने, भारतीय जनता उस्काएर अपराध ढाकछोप गर्ने प्रयासमा रहेको बताए। भारतीय भूमिमा पार्टीको झण्डा गाडेकोमा एसएसबीले मोरङका १० जना माओवादी नेताको सूची बनाएर खोजी गरिरहेको छ।

भारतीय प्रदर्शनकारीले मंगलबारै मोरङका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठलाई स्मरणपत्र समेत बुझाएका छन्। स्मरणपत्रमा भारतबिरोधी गतिविधि बन्द, माओवादी अध्यक्ष दाहालले माफी माग्नुपर्ने र नेपाल-भारत सम्बन्ध बिगार्ने तत्वलाई कार्बाहीको माग गरिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सीमाक्षेत्रमा भारतीय प्रदर्शनबारे सरकारलाई जानकारी गराइसकिएको बताए। उनले भने, ‘नेताहरूसँग जोडिएको विषयमा हामी केही गर्न सक्दैनौ।'

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआईजी भीष्म प्रसाईंले पनि गतिरोधका विषयमा गृह मन्त्रालयलाई जानकारी गराइसकिएको बताए। उनले भने, ‘कुटनीतिक रूपले गतिरोध अन्त्य हुने भएकाले स्थितिबारे मन्त्रालयलाई जानकारी गराइसकिएको छ।'

माओवादीविरुद्ध भारतीय प्रदर्शनका कारण मुलुककै ठूलो विराटनगर भन्सारको कारोबार मंगलबार ठप्प भएको छ। भन्सार कार्यालयका अनुसार नाका अवरुद्ध हुँदा दैनिक संकलन हुने करिब २ करोड ५० लाख राजस्व असुली भएन। भन्सार प्रमुख मित्रलाल रेग्मीले भारतीय नागरिकको प्रदर्शनका कारण मालसमान जाँचपास हुन नसकेको बताए।


 
अरु सीमाक्षेत्रमा पनि  कडाइ

रुद्र खड्का, कालाफाँटा (बाँके), माघ १३- एकीकृत माओवादीको 'राष्ट्रिय स्वाधीनता' आन्दोलनको कारण सीमावर्ती क्षेत्रमा सुरक्षा कडा हुँदा सर्वसाधारणले समस्या भोगिरहेका छन्।

भारतीय पक्षबाट सीमा मिचिएको भन्दै दुई साताअघि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सीमावर्ती गाउँ नरैनापुरमा गरेको भाषणका कारण भारतीय सुरक्षाकर्र्मीले थालेको कडाइले सर्वसाधारण समस्यामा परेका हुन्।

श्रेष्ठले भाषणमा भारतको विरोध गरेकाले एसएसबीले सीमावर्ती गाउँमा बसोबास गर्ने नेपालीलाई आवतजावतमा कडाइ गर्नुको साथै हप्कीदप्की सुरू गरेको माओवादीले सभा आयोजना गरेको स्थानदेखि नजिकैको गाउँ कालाफाँटाका स्थानीयले बताए।

'भारतले जति सहयोग गर्दा पनि नेपालका नेताले भारतको विरोध गरेको भन्दै एसएसबीले सर्वसाधारणलाई हप्कीदप्की सुरू गरेका छन्,' कालाफाँटा-२ का सावलप्रसाद श्रीवास्तवले भने, 'एसएसबीले भारतबाट सामान ल्याउन पनि रोक लगाएको छ।'

माओवादीको विरोध सभाअघि स्थानीयले खुल्ला नाकाबाट दैनिक गुजाराका लागि नुन, रासायनिक मल चाहिएजति ल्याउँथे। माओवादी उपाध्यक्ष श्रेष्ठले पुस २७ गते भारतीय भूमि हँदै सीमावर्ती गाउँ नरैनापुरमा पुगेर भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको उल्लेख गर्दै नेपाली जनता भारतविरुद्ध लाग्नुपर्ने बताएका थिए।

माओवादीका कालाफाँटा गाउँ कमिटी उपाध्यक्ष मोहम्मद अली शेखका अनुसार भारतविरुद्ध आमसभा गरिएको भोलिपल्टदेखि नै एसएसबीले सर्वसाधारणलाई सामान ल्याउन रोक लगाएको हो। स्थानीय उदयराज शर्माले भने, 'नेपालका नेताले जनतालाई कहिल्यै पनि सहज रूपमा बाँच्न नदिने भए। सीमामा भारतविरोधी कार्यक्रम गरेर भारतका सुरक्षाकर्मी चिढिएको र त्यसको मारमा जनता परेको उनले गुनासो गरे। भारतविरोधी चर्का भाषण गर्ने नेतालाई सीमाको पीडा थाहा पाउन केही दिन सीमामै बस्न पनि उनले आग्रह गरे। 'एक दिन आएर भाषण गरेर मात्र केही हुँदैन,' उनले भने, 'सीमावर्ती गाउँमा भारतको सहयोगबिना बाँच्न सकिदैँन। नेताहरू जनतालाई सुविधा दिने कुरा गर्दैनन्। खाली विरोध मात्र गर्दा समस्या भयो।'

सीमामा बस्दा प्रायः भारतीय सुरक्षाकर्मीको दुव्यर्बहार सहने गरेका सीमावासीले माओवादीको भाषणपछि दैनिक गुजाराको सामान पनि ल्याउन नपाएपछि नेपाल सरकारलाई नै सर्वसाधारणलाई चाहिने सामान उपलब्ध गराउन माग गरेका छन्। सीमावर्ती गाउँमा बसोबास गर्नेहरूले लामो समयदेखि भारतीय सहरबाट उपभोग्य सामान ल्याएर गुजारा गर्दै आएको बताउँछन्। राप्तीनदीवारि वस्ने अधिकांश सदरमुकाम नेपालगन्ज नपुगेको बताउँछन्। कालाफाँटा प्रहरी चौकीका प्रमुख गंगाराम थापा केही दिन यता भारतीय सुरक्षाकर्मीले सामान ल्याउन कडाइ गरेको गुनासो सर्वसाधारणले गरे पनि सहयोग गर्ने अवस्था नरहेको बताउँछन्।

माओवादीले भने नेपालभित्रै आमसभा गरेका कारण सर्वसाधारणलाई दुःख दिनु भारतको अर्को दादागिरी भएको बताएको छ। माओवादी केन्द्रीय सदस्य महेश्वरजंग गहतराजले भने, 'आमसभा गरेकै कारण जनतालाई दुःख दिनु दादागिरीको चरम रूप हो। भारतीय भूमि हुँदै लक्ष्मणपुर बाँधको निरीक्ष्ण गरी नरैनापुर आमसभामा पुग्दा भारतीय सुरक्षाकर्मीले श्रेष्ठको स्वागत गरेका थिए।

बाँकेका नौ गाविस रहेको राप्तीवारिको जनसंख्या करिब १ लाख छ। विकट क्षेत्र भएका कारण अधिकांशले भारतीय सहरबाट दैनिक गुजारा व्यवस्था गर्छन्।

यसैगरी धनगढीस्थित नागरिक संवाददाता दिलबहादुर छत्यालका अनुसार गौरीफन्टा नाकामा पनि सुरक्षा कडा गरिएको छ। भारतले करिब डेढ सातायता सीमामा कडाइ गरेपछि दैनिक उपभोग्य सामग्री खरिद गर्न ओहोरदोहोर गर्ने र भारतका विभिन्न शहरवाट मजदुरी गरेर आउने नेपालीले सास्ती व्यहोरेका छन्।
उता लक्ष्मणपुर बाँध र त्यससँग जोडिएको एफ्लक्स बन्डको सुरक्षाका लागि भारतीय प्रहरीले आधुनिक हतियारसहितको बिशेष सुरक्षा युनिट तैनाथ गरेको छ।

source: nagariknews.com