नेपाल ल्याइँदै गरेको ठूलो संख्यामा विस्फोट पदार्थ बरामद

काठमाडौँ, माघ १६ (नागरिक)-दुई लाख डिटोनेटरसहित ठूलो संख्यामा विस्फोटक पदार्थसहित राजस्थानबाट नेपालको वीरगञ्ज आउँदै गरेको एउटा ट्रक भारतको पटनामा प्रहरीले बरामद गरेको छ। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार, बरामद गरिएको ट्रकमा एक लाख ५० हजार डेटोनेटर इलेक्ट्रिक हुन् भने बाँकी ५० हजार म्यानुअल।

विहार राज्यका गभर्नर र मुख्यमन्त्रीको निवास रहेको स्थानमा ट्रक प्रवेश गरी शंका लागी छानबिन गर्दा ती विस्फोटक पदार्थ बरामद भएको सो समाचार एजेन्सीले जनाएको छ। समाचारमा नरेशप्रसाद शर्मा नामका एक प्रहरी अधिकारीलाई उद्‍धृत गर्दै ट्रकको अगाडि एउटा मारुती कार पनि रहेको भए पनि कार फरार हुन सफल भएको बताइएको छ।

रक्सौल नाका हुँदै नेपाल ल्याउन लागिएको सो ट्रक नेपालको सिनर्जिक पावर डेभलेपमेन्ट प्राइभेट लिमिटेडको नाममा आयात हुँदै गरेको पीटीआईले जनाएको छ।

बिहीबार राति सो ट्रक पटनाको हरताली चोक नजिक पक्राउ परेको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ।

एभिन्युज टेलिभिजनले भागवतप्रसाद गुप्ताको नाममा सो ट्रकको सामानको चलानी काटिएको जनाएको छ। कसले कुन प्रयोजनका लागि यति ठूलो परिमाणको विस्फोटक पदार्थ नेपाल आयात गरेको हो भन्ने खुल्न सकेको छैन। भारतीय प्रहरीले ट्रकका चालक र खलासीलाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ।

source: nagariknews.com