नेपालले भारतबाट महँगोमा बिजुली किन्ने

बलराम बानियाँ, काठमाडौं, माघ ११- नेपालले भारतसित लोडसेडिङ कम गर्न व्यावसायिक मूल्यमा थप ३० मेगावाट बिजुली किन्ने भएको छ।

दुई देशका ऊर्जा अधिकारीहरूबीच भारतको नयाँ दिल्लीमा शनिबार सम्पन्न भएको वार्तामा नेपाललाई थप दुईवटा बिन्दु ढल्केबर-मुजफ्फपुर र गण्डक क्षेत्रबाट महँगो दरमा १५/१५ मेगावाटका दरले बिजुली दिन भारत तयार भएको हो

भारतले त्यहाँको ऊर्जा दलाल कम्पनी (पीटीसी) मार्फत् महँगो दरमा बिजुली उपलब्ध गराउनेछ। सहमतिअनुसार नेपालले पीटीसीमार्फत् भारु ६.७० अर्थात् नेपाली १० रुपैयाँ ७२ पैसामा विद्युत् आयात गर्नेछ। भारतीय विद्युत प्राधिकरणले प्रतियुनिट बिजुली सालाखाला साढे सात रुपैयाँका दरले उपभोक्तालाई वितरण गर्छ। यसमा तीन रुपैयाँ प्रसारण लाइनबाट हुने चुहावटमा खर्च हुन्छ। ऊर्जा मन्त्रालयका अधिकारीले भारतले दिने थप बिजुलीबाट यस वर्षको हिउँदमा लोडसेडिङ बाह्र घन्टाभन्दा बढी हुन नदिने दाबी गरेका छन्।

सहमतिमा भारतले नेपाललाई ढल्केबर-मुजफ्फपुरबाट १५ र गण्डक क्षेत्रबाट १५ मेगावाटका दरले बिजुली दिने उल्लेख छ। भारत-नेपालबीच सहुलियत दरमा ५० मेगावाट बिजुली आदानप्रदान गर्ने सम्झौता छ। नेपालले लोडसेडिङ कम गर्न भारतबाट यसअघि नै सम्झौताभन्दा बढी २० मेगावाट बिजुली व्यापारिक दरमा आयात गरिरहेको छ।

नयाँ सहमतिअनुसार नेपालले अब सहुलियत दरमा ५० र व्यापारिक दरमा ५० गरी भारतबाट एक सय मेगावाट विद्युत् आयात गर्नेछ। सहुलियत दरको बिजुलीको महसुल प्रतियुनिट झन्डै ५ रुपैयाँ छ। भारतबाट थप बिजुली आयात गर्न भएको सहमतिले यस वर्ष १२ घन्टाभन्दा बढी लोडसेडिङ हुन नदिने जानकारी ऊर्जाका अधिकारीले दिएका छन्।

प्रसारण लाइन दुई वर्षमा बनाउने सहमति नेपाल र भारतबीच ठूलो मात्रामा विद्युत् आदानप्रदान गर्न २ वर्षभित्र अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिसक्ने सहमति भएको छ। सहमति अनुसार मोरङको ढल्केबर मुजफ्फरपुरबीच ४ सय केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गरिनेछ। पहिलोपटक बन्ने अन्तरदेशीय ठूलो क्षमताको प्रसारण लाइनबाट नेपाल र भारतबीच १२ सय मेगावाट बिजुली आदानप्रदान गर्न सकिनेछ। उक्त प्रसारण लाइन दुई वर्षभित्र निर्माण गरिसक्ने सहमतिमा उल्लेख छ।

नेपाल र भारतबीच बुटवल र गोरखपुरबीच ठूलो क्षमताको अर्को प्रसारण लाइन निर्माण गर्न तत्काल सम्भाव्यता अध्ययन गर्ने सहमति भएको छ। दुई देशबीच जति सक्दो चाँडो अध्ययन सम्पन्न गरी थप नयाँ प्रसारण लाइन निर्माण गरिसक्ने सहमति भएको छ।

source: nagariknews.com