न्युरोडमा लुटेराले गोली चलाए

व्यस्त बजारबाट लुटेरा फरार-
केपी ढुंगाना, काठमाडौँ, माघ १०- काठमाडौँको न्युरोडस्थित विशालबजारको भूमिगत पार्किङ स्थलमा आज बिहान लुटेराहरुले गोली चलाएका छन्। गोलीबाट कोही हताहत भएका छैनन्।

जनसेवा प्रभागमा प्रहरी निरीक्षक तुलबहादुर कार्कीका अनुसार सुनचाँदी व्यवसायी प्रकाश राजभण्डारीलाई लुट्ने उद्देश्यले उनीहरुले गोली चलाएका थिए। आफ्नो प्रयास असफल भएलगत्तै मोटरसाइकलमा आएका दुई जना त्यहाँबाट फरार भएका थिए

बा २२ प ९५८३ नम्बरको मोटरसाइकलमा फरार रहेका उनीहरुको खोजी भइरहेको कार्कीले बताए। जनसेवा प्रहरी प्रभाग घटनास्थलबाट केही मिटरको मात्र दूरीमा रहेको छ।

श्री सुनचाँदी भण्डार पसलका व्यवसायी सँधै विशालबजारको सो भूमिगत पार्किङमा सवारी पार्क गरेर पसल जाने गरेका थिए। लुटेराहरुले योजनावद्ध रुपमा उनी आउने समय ढुकेर आक्रमण गरेका थिए।

प्रहरीले घटनामा दुई जना संलग्न भएको देखिएको बताए पनि प्रत्यक्षदर्शीले भने दुई जना पार्किङबाहिर ढुकेर बसेका र दुई जना भित्र गएर गोली चलाएको बताएका छन्।

source: nagariknews.com