भारतले पूर्वका १० ठाउँमा सीमा मिचेको पुष्टि, स्तम्भसमेत गायव

खिलानाथ ढकाल, इलाम, फागुन २०- भारतले इलामको पूर्वी सीमावर्ती क्षेत्रका १० ठाउँमा अतिक्रमण गरेको पुष्टि भएको छ। सीमा प्रशासन, इलाका प्रहरी कार्यालय पशुपतिनर र नागरिक समाजको संयुक्त टोलीले स्थलगत अनुगमनपछि १० ठाउँ मिचेको पुष्टि गरेको हो। टोलीले गरेको अनुगमनमा सीमा क्षेत्रका पाँच वटा सीमा स्तम्भसमेत गायव भएको तथ्य फेला परेको छ।


पशुपतिनगर–४ हिलेभञ्ज्याङ क्षेत्रमा रहेका ७१/२१, ७१/२२, ७१/२३ पशुपतिनगर र श्रीअन्तु गाविसमा पर्ने दीपकमल वनक्षेत्रभित्र रहेका ७२/३ र ७२/४ नम्बर सिमास्तम्भ गायव छन्। सन्दकपुर, मानेभञ्ज्याङ, सिमाना बजार, पुलखोला, फाटक, पेनल हिले भञ्ज्याङ, गुफापातल र छब्बीसे भारत पक्षबाट अतिक्रमण भएको टोलीका सदस्य देवेन्द्र पाण्डेले बताए। 

'अनुगमनमा अतिक्रमण नभएका तर विवादमा परेका ठाउँ भेटिए'- उनले नागरिकसित भने। अनुगमनपछि तयार पारिएको प्रतिवेदनमा पर्यटकीयस्थल सन्दकपुरमा नेपाली भूमि अतिक्रमण गरी भारतले आधुनिक, पर्यटकीय स्थलको रुपमा सुविधा सम्पन्न होटल स्थापना गरेको उल्लेख छ। 'कालपोखरी–सन्दकपुर क्षेत्रमै नेपाली भूमि मिचेर होटलहरू बनाइएको र पर्यटक पदमार्ग समेत नेपाल खण्डमा बनाई सीमा स्तम्भहरू समेत विवादित अवस्थामा पुर्‍याएको भेटायौं'- पाण्डेले भने।

पशुपतिनगर–५ स्थित पुल खोलामा भारतीय पक्षबाट दशगजा मिचेर भारतीय सीमा सुरक्षा बल एसएसबीले क्याम्प राखेको छ। पशुपतिनगर–४ को फाटकमा सीमास्तम्भ मिचेर पश्चिम बङ्गाल दार्जिलिङ प्रहरीको चेकपोष्ट राखिएको छ। पशुपतिनगर–४ कै पेनलमा नेपाल–भारत सीमा स्तम्भसँगै जोडेर एसएसबीको क्याम्प राखिएको छ। सीमा क्षेत्रको घुमाउरो डाँडा नेपाली भूमिमा रहे पनि दशगजासमेत नछाडी तारबार गरेर एसएसबीले क्याम्प बनाएको छ।

श्रीअन्तु–८ को २६ नम्बर सीमास्तम्भ रहेको ठाउँमा नेपाली भूमि मिचेर भारतीय नागरिकले घर बनाएका छन्। छब्बीसेमा दशगजा खण्डमा विद्यालयको ग्राउण्ड कायम गरी जवाहर नवोदय विद्यालय निर्माण गरिएको छ। पशुपतिनगर–४ को हिले क्षेत्रमा वर्षौंदेखि बसिरहेका नेपालीहरूको सात घर भारततर्फ पर्ने गरी सीमास्तम्भ कायम गरिएको टोलीले जनाएको छ। 

टोलीका सहभागी मिलन क्षेत्रीका अनुसार स्थलगत अध्ययनमा दुबैपट्टिको दशगजा स्पष्ट छैनन्। उनका अनुसार सीमा क्षेत्रमा भारतीय पक्षबाट बनाइएका घरका कारण नेपाली भूमि मिचिएको छ। 'मर्मत नहुँदा केही सीमा स्तम्भसमेत भत्किसकेका छन् भनेर धेरैजसो जीर्ण अवस्थामा'- उनले जानकारी दिए।

गोर्खे–४ मर्च्याङ्गको १९/१ र १९/३ का बीचका सीमा स्तम्भ र श्रीअन्तु –८ को ७२/७ नम्बरको सीमा स्तम्भ पूर्णरुपमा क्षति भएका छन्। अध्ययन टोलीले अधिकांश सीमास्तम्भ टुटफुट भएको र मर्मत गर्नुपर्ने बताएको छ। माइमझुवा गाविसका ५८/१ र ५८/२, जमुना–७ का ६१/२, ६१/१३, जोगमाई–३ तुम्लिङडाँडाका ६४ र ६४/१, जोगमाई–३ तुम्लिङ बजारका ६४/२ देखि १६,जोगमाई–३ मेग्मा गुम्बामाथिको ६५/१, जोगमाई–३ लामाधुराको १९, गोर्र्खे–४ लामाधुरामुनिको जङ्गलको १९/१, गोर्खे–४ चित्रेको १९/३, चित्रेकै २०/१, गोर्खे–९ मानेभञ्ज्याङ बजारको ६८/२१, पशुपतिनगर–५ टासीगाउँको ७०/९, पशुपतिनगर–४ चारमाइलको ७१/७, पशुपतिनगर–४ पेनलडाँडाको ७१/१० र पशुपतिनगर–४ र हिले बजारको ७१/२४ सीमा स्तम्भ भत्किएका छन्। 

सीमा क्षेत्रका ४ स्तम्भको नम्बर नभएको बताइएको छ।

source: nagariknews.com